पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।
Press Release_01_16_2083.pdf
PDF • 154.44 KB
हालै सार्वजनिक सरोकारसँग जोडिएका केही घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारिता पेशा उच्च नैतिकता, जिम्मेवारी तथा आचारसंहितामा आधारित हुनुपर्नेमा महासंघ प्रष्ट छ । महासंघ सम्पूर्ण पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै मर्यादित, व्यवसायिक र जिम्मेवार ढंगले सञ्चारकर्म गर्न आग्रह गर्दछ ।
महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।
भेरी अस्पतालसँग सम्बन्धित पछिल्लो घटनाप्रति महासंघ बाँके शाखाले गम्भीर चासो व्यक्त गर्दै उक्त घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न पनि जोडदार माग गर्दछ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्दै पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाका पक्षमा सधैँ दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछ । तथापि, पत्रकारका नाममा गरिने अराजकता तथा आचारसंहिता विपरीतका गतिविधिप्रति महासंघको कुनै समर्थन वा पक्षपोषण रहने छैन ।
अन्त्यमा, सम्पूर्ण पत्रकारहरूलाई सत्य, निष्पक्षता र जिम्मेवारीका मूल्यमान्यतामा अडिग रहँदै गम्भीरतापूर्वक आफ्नो पेशागत दायित्व निर्वाह गर्न हार्दिक अपिल गर्दछौँ ।
धन्यवाद ।